निद्रा कसलाई पो प्यारो लाग्दैन र ? तर के गर्नु सधै सुतेर मात्र भएन । हातमुख जोर्न काममा जानुपर्यो । सधै सुतेरै गर्न मिल्ने काम भए कस्तो राम्रो हुँदो हो ? भन्ने सायद तपाइँ पनि कल्पना गर्नुहुन्छ होला । तर कल्पना गरेर मात्र के गर्नु ? सुत्ने जागिर कहाँ पो पाइन्छ र ? हाम्रो देशमा यस्तो जागिर त पाइन्न तर फिनल्याण्डमा भने सुत्ने जागिर खुलेको छ । फिनल्याण्डको राजधानी हेलसिन्कीमा रहेको एक होटेलले सुत्ने जागिर खुलाएको छ । सुत्ने जागिर भन्ने बित्तिकै कुनै यौन धन्दाको लागि हो की ? भन्ने सोच्नुहोला । तर त्यसो होइन । यो विशुद्ध होटेलका ओछ्यानमा सुत्ने जागिर मात्र हो, अरु दायाँबायाँ केही होइन ।

होटल फिन नामको उक्त होटलले सुत्ने जागिर खान चाहनेलाई आवेदन दिन आह्वान गरेको छ । सुत्नमा पोख्त मान्छेलाई जागिर दिने बताएको उक्त होटेलमा सुत्ने जागिरका लागि छानिने मानिस ३५ दिनसम्म मज्जाले होटलमा खाइपाइ आराम साथ सुत्न पाउनेछ ।

सुत्ने जागिर खुलाउनुको तात्पर्य खुलाउँदै होटलका म्यानेजर टिनो टिका भन्छन्, नयाँ खुलेको होटेलको प्रवर्धन र प्रचारका लागि त्यसो गरिएको हो । त्यहाँ सुत्ने र निदाउने जागिरमा छानिएका मान्छेहरुले जागिरपछि एउटा काम भने गर्नुपर्छ । उनीहरुले होटेलमा आफ्नो सुताइ तथा निद्राको विषयमा आफ्नो अनुभव लेख्नुपर्नेछ र त्यसलाई इन्टरनेट तथा अन्य माध्यमबाट शेयर गर्नुपर्नेछ ।

यो जागिर खानका लागि फिनिश, अंग्रेजी, रसियन तथा अन्य भाषाको ज्ञान हुनु आवश्यक छ । आउँदो १७ मे सम्ममा उपयुक्त कर्मचारी छानिने र सुत्ने जागिरमा लगाइने होटलको भनाइ छ । यो जागिरमा आवेदनका लागि अपि्रल महिनाको अन्तसम्मको समय तोकिएको छ । अहिलेसम्म ६ सय जनाले आवेदन गरिसकेका छन् ।